मनाङ, मुस्ताङ र हुम्लाका विभिन्न क्षेत्रमा हिमपात

काठमाडाैं । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ तथा हिमाली जिल्ला हुम्लामा हिमपात (हिउँ) भएकाे छ ।

मनाङ, मुस्ताङ र हुम्लाका विभिन्न क्षेत्रमा साेमबार बिहानैदेखि हिँउ परेकाे हाे । गत वर्ष मनाङमा बेमौसममा मात्रै हिमपात भएको थियो । यसवर्ष समयमै हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि समयमै हिमपात भएपछि किसानहरु खुशी भएका छन् ।

हिमपात भएपछि चिसाे बढेकाे छ । मनाङ भित्रिएका पर्यटक घरभित्रै बस्न बाध्य भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएकाे छ ।

मुस्ताङमा पनि साेमबार बिहानैदेखि हिउँ परेकाे छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ ।

हुम्लामा पनि साेमबार बिहानैदेखि हिमपात भएकाे हाे । हुम्लामा याे वर्षकाे पहिलाे हिमपात भएकाे हाे । हिमपात सुरु भएसँगै किसान खुशी भएका छन् । हिमपातपछि खेती सप्रिने उनीहरूले बताएका छन् । हिमपातले किसान खुशी भए पनि चिसाे बढेसँगै जनजीवन भने कष्टकर भएकाे छ ।

Comments are closed.