‘खजुरे ब्रो’को प्रमोशनल गीत सार्वजनिक

काठमाडाैँ- वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेकाे फिल्म ‘खजुरे ब्रो’ को प्रमोशनल गीत सार्वजनिक भएको छ।
निर्माणटिमले ‘मनि मनि’ बोलको र्‍याप गीत शनिबार सार्वजनिक गरेको हो। ‍गीतमा पछिल्लो समयका चर्चित र्‍यापर कुशल पोखरेलको स्वर रहेको छ। कुशलकै शब्द रहेको गीतमा संगीत केपासको रहेको छ।

सार्वजनिक गीतमा पैसाको बयान गरिएको छ। गीतको भिडिओमा फिल्मकी अभिनेत्री नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ। फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन्।

रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकारहरू पनि फिचर्ड छन्। नितिको यो डेव्यू फिल्म हो। पहिलो फिल्म भएकोले पनि नीति निकै उत्साहित छिन्। धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा फिल्म बनेको हो। फिल्ममा खजुरे ब्रोको भूमिकामा रेअर राई देखिएका छन्।

बलिउडमा प्रमोशनका लागी यस्तो शैलीका भिडिओ बनाउने प्रचलन छ भएकाले ‘खजुरे ब्रो’ को प्रमोसनका लागी यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए। अहिले चलिरहेका ट्रेन्ड भन्दा फरक स्वादको रमाइलो फिल्म बनेको र त्यसको प्रचार छुट्टै शैलीले गरौँ भन्ने योजनाका साथ यो भिडियो निर्माण गरिएको निर्माण टिमले जनाएको छ।

दिव्य दृश्य इन्टरटेनमेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टि प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।

Comments are closed.