Trending Now

आईसीसी विश्वकप छनोटको उपाधि श्रीलंकाले जित्यो

काठमाडौं : आईसीसी विश्वकप ग्लोबल छनोटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार भएको फाइनलमा नेदरल्यान्ड्स १२८ रनले पराजित भयो।

महेश थिक्सानाको चार विकेटमा कमजोर लक्ष्य दिए पनि श्रीलंकाले उपाधि जितेको हो। जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो। श्रीलंका ४७ ओभर ५ बलमा २३३ रन बनाएर अलआउट भयो। ओपनर पाथुम निसान्का र सदिरा समारा विक्रमाले राम्रो सुरुवात दिन सकेनन्। पाथुम २३ र विक्रमा १९ रनमा आउट भए।

सहन अराचिङ्गेले सर्वाधिक ५७ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितिमा पुर्याए। पाँचौं विकेटका लागि अराचिङ्गे र चरिथ असलङ्काले ६४ रनको साझेदारी गरे। नेदरल्यान्ड्सका सकिव जुल्फिकुर, विक्रमजित सिंह, लोगन भान विक, रायन क्लिनले दुई(दुई विकेट लिए।

२३४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १०५ रनमा अलआउट भयो। पहिलो विकेटका लागि विक्रमजित सिंह र म्याक्स ओ डोवडबीच २५ रनको साझेदारी भएको थियो। विक्रमजित १३ रनमा आउट भए। त्यसपछि नेदरल्यान्ड्सको विकेट पतनको शृंखला रोकिएन। पाँच ब्याटर दोहोरो अंकको स्कोर नबनाउँदै आउट भए। सातौं विकेटका लागि सकिव जुल्फिकर र म्याक्सबीच ३६ रनको साझेदारी भएको थियो। तर नेदरल्यान्ड्सको इनिङ्स २४औं ओभरमा सकियो।

श्रीलंकाले सुपर सिक्सको शीर्ष स्थानमा रहँदै र नेदरल्यान्ड्सले दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाएका थिए।

विश्वकपको ग्लोबल छनोटमा दोस्रोपटक सहभागी भएको नेपालले भने आठौं स्थानमा छनोट अन्त्य गरेको थियो।

Comments are closed.