प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश

काठमाडौं-– प्रहरीमा स्टाफ कलेज कोर्स सञ्चालन नरोक्न सर्वोच्च अदालतले आदेश गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार चुडाल र महेश शर्मा पौडेलको सोमबारको इजलासले आंशिक अन्तरिम आदेश जारी गर्दै स्टाफ कलेज कोर्स सञ्चालनमा नरोक्न भनेको हो ।स्टाफ कलेज खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले आंशिक अन्तरिम आदेश जारी गरेको छ । जसमा कोर्स सञ्चानमा नरोक्न भनेको छ भने यसैका आधारमा हुने बढुवालाई भने कानुन बनाएर मात्रै कार्यान्वयनमा ल्याउन आदेश जारी गरेको छ ।
अहिलेको विद्यमान प्रहरी ऐन र नियमावलीले स्टाफ कलेज कोर्सलाई चिन्दैन । यसैलाई आधार बनाउँदै डीएसपी रिपेन्द्र कुमारसहित २० जनाले २६ फागुनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो रिटमा सर्वोच्चले स्टाफ कलेज कोर्सका रुपमा सञ्चालन गरिएको मास्टर्स इन पुलिस साइन्स (एमपीएस) मा कोर्स नरोक्न भनेको छ ।रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र अधिवक्ता डा. गणेश रेग्मीले बहस गरेका थिए । विपक्षीको तर्फबाट नायव महान्यायाधीवक्ता लोकराज पराजुली र प्रहरीका डीआईजी डा. मनोज केसीले बहस गरेका थिए ।यसअघि २७ फागुनमा न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ ।संसद्‍मा दर्ता भएको प्रहरी विधेयकमा समेत स्टाफ कलेज लागु गर्नेबारे उल्लेख गरिएको छ । स्टाफ कलेज पास नहुनेले डीआईजी नबन्ने र एसएसपीमै घर जानुपर्ने विधेयकमा उल्लेख गरिएको छ ।

Comments are closed.