काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तनमान सरकार ठिक ढङ्गले अघि बढ्न नसकेको बताउनुभएको छ ।
कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले देशको आर्थिक, सामाजिक, धार्मिक अवस्था ठिक ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो । ‘नेपालमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ, जबाफदेही कोही छैन, पारदर्शी छैन, लोकतन्त्र, गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन, गणतन्त्रलाई राम्रो बनाउन सक्नुपर्छ’, उहाँले भन्नुभयो ।
संविधानले दिएको अधिकार जनताको घर–घरमा पुर्याउनु पर्नेमा त्यो हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नागरिकले अधिकार उपभोग गर्न नपाउँदा व्यवस्था जुन आए पनि केही नहुने उहाँको भनाइ छ । अहिले व्यवस्था संघीय भए पनि व्यवहार भने केन्द्रीकृत शासन प्रणालीको जस्तै भएको बताउँदै कोइरालाले त्यसको विरोध जनाउनुभयो ।
कृष्णप्रसाद कोइरालाले राणाकलामा चन्द्र शमशेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाएर गलत कामको विद्रोह गर्नुभएको कोइरालाले स्मरण गर्नुभयो । त्यसैले गलत काम प्रति असहमति र विद्रोह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान– २०८०’ प्रदान गरिएको थियो । कोइरालाले श्रेष्ठलाई सो सम्मान प्रदान गर्नुभयो ।
Comments are closed.