सरकार विपद् प्रतिकार्यको पूर्व तयारीमा जुटिसकेको छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वर्षाको बेलामा हुने सक्ने विपद् प्रतिकार्यको पूर्व तयारीमा सरकार जुटिसकेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरी सबै मन्त्रालय, विभाग र अन्य निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने तयारी गरिएको उहाँले प्रष्ट पार्नुभयो । यसका लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने लामिछानेले जानकारी दिनुभयो ।
जेठ १९ देखि असोज १९ गतेसम्मको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट स्थापना गरिएको उहाँले बताउनुभयो । सो कमाण्डले संयोजनकारी भूमिका खेल्ने लामिछानेले जानकारी दिनुभयो । कमाण्ड पोष्टलाई पूर्ण अधिकार प्रदान गरिएको उहाँले बताउनुभयो ।
विपद्को सूचना सङ्कलन गर्न र तथा पीडितको गुनासो सुन्न आजैबाट सुरु हुने गरी ११४९ नंको टोल फ्री नम्बर स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । ११४९ नम्बरबाट गुनासो, सूचना र सुझाव सङ्कलन गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । यसले गर्दा यस वर्ष गोदाममा सामान थन्किने र पीडितसम्म सहायता सामाग्री नपुग्ने समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विपद् व्यवस्थापनको लागि नेपाली सेना, सशस्त्र, प्रहरी लगायतको जनशक्ति तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यस्तै स्वयंसेवामा परिचालन हुनेले समेत नाम लेखाइरहेका उहाँले जानकारी दिनुभयो । राजनीतिक दलका स्वयंसेवकलाई समेत यसमा परिचालन गर्नको लागि भोलि राजनीतिक दलको बैठक आयोजना गरिएको पनि उहाँले बताउनुभयो ।

Comments are closed.