कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेश गरेको छ।

आर्थिक तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार चालू आर्थिक वर्षको भन्दा सानो बजेट प्रस्तुत गरेका हुन्।

सार्वजनिक गरेको बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ। पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ। प्रदेशभर रहेका १३७ पालिकालाई स्थानीय तहका विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ।​

सार्वजनिक गरिएको बजेटको स्रोतमा भने संघ सरकारको अनुदानलाई मुख्य मानिएको छ। प्रस्तुत बजेटमध्ये संघको अनुदानमा १२ अर्ब ४० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड व्यवस्थापन हुने सरकारले प्रक्षेपण गरेको छ।

अघिल्लो पटक आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए। अल्पमतमा रहेका तत्कालीन मुख्यमन्त्री कार्कीले चालू आव २०८०/८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट ल्याएका थिए।

केही समयपछि कार्कीले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्दै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले चालू आवका लागि ल्याएको ३६ अर्ब ७४ करोडको बजेट पास भएको थियो।

(हेर्नुहोस् पूर्णपाठ)

 

Comments are closed.