एमालेमा ६ केन्द्रीय सदस्यकाे पद रिक्त, जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेकाे सचिवालय बैठकका निर्णय सुनाउने क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ६ केन्द्रीय सदस्यकाे पद विधानअनुसार रिक्त भएकाे जानकारी दिनुभयाे ।

प्रदेश अध्यक्ष निर्वाचित भएका र उम्मेदवारी दिएकाहरूको स्थान रिक्त भएको उहाँले बताउनुभयाे । उपमहासचिव ज्ञवालीका अनुसार गुलावजंग शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालकाे पद रिक्त भएकाे हाे ।

कर्णालीमा प्रदेश अध्यक्ष बन्नुभएका शाह, वाग्मतीमा प्रदेश अध्यक्ष बन्नुभएका ढुंगेल, लुम्बिनी प्रदेश अध्यक्षमा पराजित रिजाल, वाग्मतीमा प्रदेश अध्यक्षमा पराजित दाहाल, गण्डकी प्रदेश अध्यक्षमा उम्मेदवार भई पराजित अधिकारी र कोशी प्रदेश अध्यक्षमा उम्मेदवार भइ पराजित विनोद ढकालको केन्द्रीय सदस्य पद रिक्त भएको हो ।

सचिवालय बैठकले जिल्ला अधिवेशनकाे मिति सारेकाे उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयाे । माघ मसान्तसम्म सम्पन्न गर्ने भनिएकाे जिल्ला अधिवेशन पार्टीकाे विशेष अभियानका कारण पछि सारिएकाे उहाँले बताउनुभयाे । ‘याे अभियानका कारणले माघ मसान्तभित्र सम्पन्न गर्ने भनिएकाे पार्टीका जिल्ला अधिवेशनकाे समयसीमा अलि पछि सारेका छाैं, अब जेठ मसान्तसम्ममा जिल्ला अधिवेशनहरु सुविधाअनुसार, स्थितिअनुसार साथीहरुले  सम्पन्न गर्न सक्नुहुनेछ’- उपमहासचिव ज्ञवालीले भन्नुभयाे ।

एमालेले प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।

Comments are closed.