बेचन झामाथिको अनुसन्धान जारी छ: प्रहरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।असार १३ गते पक्राउ परेका झाको संलग्नताबारे जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगीसहितका आरोपमा अनुसन्धान अघि बढाएको हो । भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका लागि झा पक्राउ परेसँगै यसको नयाँ तथ्य खुल्ने अपेक्षा प्रहरीको छ । तर अनुसन्धान भएको एक वर्ष पछि मात्रै पक्राउ परेकाले बेचन यो मुद्दामा केही नबोल्ने पक्षमा देखिएको प्रहरी अधिकृतहरु बताउँछन् ।
उनको मोबाइल पनि नयाँ भएकाले थप प्रमाण बरामद हुने सम्भावना भने न्यून देखिएको छ । उनी आफैं पनि बयानका लागि केही नबोल्ने रणनीतिमा देखिएको प्रहरी स्रोतले जनाएको हो ।
यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीले बेचनको नाम लिएका थिए । केसीले बेचनलाई नयाँ बानेश्वरमा भेटेर दुई करोड रुपैयाँ दिएको बयान दिएका थिए ।
सोही बयानका आधारमा प्रहरीले उनलाई दोस्रो चरणको अनुसन्धानका लागि खोजी गर्दै आए पनि पत्ता लगाउन सकेको थिएन । ६० दिनसम्म हिरासतमा राख्न पाउने भएकाले झाको संलग्नता र आवश्यक प्रमाण संकलन गर्नुपर्ने दबाबमा प्रहरी छ ।

Comments are closed.