फेरी बढ्यो पेट्रोलियमको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
डिपो/कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

 

 

 

 

 

Comments are closed.