प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीको सातदिने भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किँदै छन्।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ गएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गरेका थिए। रोममा रहँदा उनले बङ्गलादेशी समकक्षी शेख हसिनासँग भेटेका थिए।

यो क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो। उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई मजबुत बनाउनेबारे छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिण्डेम्याकनबीच भेटवार्ता भएको थियो। सो भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। कार्यक्रममा उनले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका थिए।

भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिसँग छलफल गरेका थिए। सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी छन्।

Comments are closed.