१८ वर्षदेखि निष्कर्ष विहीन रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय अन्तिम टुङ्गोमा पुग्न लागेको छ : रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले १८ वर्षदेखि निष्कर्ष विहीन रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास कार्यक्रममा बोल्दै लेखकले यसले देशमा एक खालको आशा जगाएको बताउनुभयो । दुई ठुला दल एक ठाउँमा आउँदा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको उहाँको धारणा छ ।

लेखकले दुई ठूला दलको समीकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने दाबी गर्नुभयो । लेखकले कांग्रेस र एमाले एक ठाउँमा आएर सरकार चलाउने मात्र नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरूलाई समाधान गर्ने बताउनुभयो ।

सत्ता पक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्ने लगायतका कुराहरूमा सबै सँगै मिलेर काम गर्नुपर्नेमा समेत उहाँले जोड दिए । ठुला दल एक ठाउँमा आउँदा देशमा अस्थिरता कम हुने उहाँले दाबी गर्नुभयो ।

लेखकले, राजनीतिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेको बताउँदै यसबाट विकासका काम प्रभावित भएका बताउनुभयो । विकास, निर्माणका काम अब दुई ठूला पार्टी मिलेर बनेको सरकारले अघि बढाउने उहाँको भनाइ छ ।

Comments are closed.