हमासको मुख्यालयको सुरुङ ध्वस्त पार्‍यौँ : इजरायल

गाजा : उत्तरी गाजा पट्टीमा हमासको मुख्यालय रहेका सुरुङ फेला परेको र तिनलाई नष्ट गरिएको इजरायली रक्षाबलले शनिबार जनाएको छ।

इजरायलले प्यालेष्टिनी लडाकु समूह (हमास)का लडाकुले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै त्यहाँ विद्युत्‌को पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्ष रहेको उल्लेख गरेको छ।​

हालैका हप्तामा १६२ औं डिभिजनको कमान्डमा १४ औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमासका नेता याह्या सिनवारको गोप्य वासस्थान फेला पारी नष्ट गरेको छ।

उक्त स्थल उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षाबलले जनाएको छ। रक्षा बलका अनुसार याहलोम युनिटका सैनिकले थप प्राविधिक साधन प्रयोग गरी अपार्टमेन्ट खोजेका थिए।​

अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरुङ मार्ग रहेको थियो। सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्त्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ।

‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो। यसमा हमासका अधिकारी रहेका थिए। उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरुङ बनाई रणनीतिक काम गर्दै आएको छ’, इजरायली रक्षा बलले जनाएको छ।

सुरुङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुने गरी निर्माण गरिएको थियो। इजरायली सुरक्षाबलले हमासका कार्यकर्ताको दर्जनौं घरमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थ नष्ट गरेका छन्।

Comments are closed.