चीनले प्रतिबन्ध लगाएपछि अमेरिकाले किन्यो जापानी सिफूड

वाशिङ्टन डीसी । जापानमा रहेका अमेरिकी सेनाले ठुलो परिमाणमा जापानी सीफूड किनेका छन् । जापानले फुकुशिमा परमाणु केन्द्रको प्रशोधित रेडियोधर्मी पानी समुद्रमा मिसाएलगत्तै सोको विरोधमा चीनले जापानी सिफूडको आयातमा प्रतिबन्ध लगायो । चीनले लगाएको प्रतिबन्धको प्रतिक्रियामा अमेरिकी सेनाले सीफूड किन्न सुरु गरेको हो ।
चीनले लगाएको प्रतिबन्धको असर कम गर्न अन्य बाटोहरू पनि खोजिने जापानका लागि चिनियाँ राजदूत रहम इम्यानुअलले भनेका छन् । सिफूडमाथि चीनको प्रतिबन्धलाई उनले चीनको आर्थिक युद्धको संज्ञा दिएका छन् । चीन जापानी सिफूडको सबैभन्दा ठुलो क्रेता हो । गएको वर्ष जापानले चीनलाई १ लाख टन सीफूड बेचेको थियो ।
अहिले अमेरिकाले शेलफिस मात्रै किनेको छ । विस्तारै खरिदलाई सबैखाले सिफूडमा विस्तार गरिने बताइएको छ । यस अघि जापानमा रहेका अमेरिकी सेनाहरूले जापानी सि फूड किनेका थिएनन् । योसँगै अमेरिकाले जापानबाट माछा आयात गर्ने सम्भावना खुलेको छ । सन् २०११ मा भूकम्प र सुनामीका कारण क्षतिग्रस्त परमाणु केन्द्रको सङ्कलित लाखौँ टन रेडियोधर्मी पानी प्रशोधन गरेर जापानले अगष्टको अन्त्ययता समुद्रमा मिसाउन सुरु गर्‍यो ।
पानीमा रेडियो विकिरणको शेष नभएको जापानले बारम्बार बताइरहेको छ । उसको यो दाबीसँग कयौँ वैज्ञानिक सहमत पनि छन् । संयुक्त राष्ट्र संघले समेत यो योजनालाई अनुमोदन गरेको थियो । सीफूड स्वास्थ्यका लागि सुरक्षित छ भनेर देखाउने केही अघि जापानका शीर्ष नेताहरुले एउटा कार्यक्रमबिच सीफूड समेत खाएका थिए । तर चीन भने कुनै दाबी पत्याउने मुडमा छैन ।

Comments are closed.