विश्व बैंकले नेपालमा गर्ने लगानीको फ्रेमवर्क टुङ्गिएको छ:अर्थमन्त्री वर्षमान पुन

काठमाडौं, बैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकले नेपालमा गर्ने लगानीको फ्रेमवर्क टुङ्गिएको बताउनुभएको छ ।

वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसंग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुङ्गिएको बताउनुभएको हो । उहाले उक्त फ्रेमवर्कलाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

मन्त्री पुनले नेपाली मुलका अमेरिकनहरुले नेपालमा लगानी बढाउने प्रतिवद्धता जनाएको जानकारी दिनुभयो । बैठकका क्रममा तीनवटा मन्त्रीस्तरीय बैठकहरुमा सहभागी भएको भन्दै उहाले आफ्नो भ्रमण सफल भएको जिकिर गर्नुभयो । मन्त्री पुनले एमसीसी पदाधिकारीहरुसंग पनि छलफल भएको भन्दै नेपालमा सञ्चालित परियोजनाहरु समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनका क्रममा मन्त्री पुनले बैठकका क्रममा भएका साइडलाइन छलफल र वार्ताहरु पनि निकै सकारात्मक भएको बताउनुभयो । उहाले नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।

Comments are closed.