यस्तो छ कोशी प्रदेशको नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमाले पार्टीलाई थप चलायमान बनाउन यस वर्षलाई पार्टीको अधिवेशनको वर्षका रूपमा लिएको छ ।

एमालेले पार्टीको वडादेखि प्रदेशसम्मका अधिवेशन यसै वर्ष सक्ने कार्य योजना बनाएको छ । त्यसको सुरुवात एमालेले प्रदेशबाट गरेको छ । यही असोज महिना भित्र एमालेले सातवटै प्रदेशका अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्दै छ ।

जस अनुसार लुम्बिनी, वाग्मती, कर्णाली र कोशीले नयाँ नेतृत्व पाइसकेको छ । लुम्बिनी र वाग्मतीमा केही दिन अघि अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएको छ भने कर्णाली र कोशी प्रदेशले गए राति मात्रै नयाँ नेतृत्व पाएको छ । गण्डकीमा नेतृत्व चयनको लागि बन्द सत्र सुरु भएको छ ।

मधेश र सुदूरपश्चिम प्रदेश नयाँ नेतृत्व चयनको तयारीमा जुटिरहेका छन् । हालसम्म अधिवेशन सम्पन्न भएका सबै प्रदेशमा मत विभाजन प्रक्रियाबाटै नै नेतृत्व चयन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश समेत रहेको कोशीमा पनि मत विभाजन प्रक्रियाबाट नै नेतृत्व चुनिएको छ । कोशीमा उपाध्यक्षमा सर्वसम्मति भए पनि अन्य पदाधिकारी भने मत विभाजन प्रक्रियाबाट नै टुङ्गिएको हो ।

प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । खतिवडाले ५ सय १२ मत पाई निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत पाउनुभएको थियो । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित हुनुभयो । भण्डारी ५ सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६ सय २८ मत ल्याई विजयी हुनुभएको छ ।  त्यस्तै खुल्ला उपाध्यक्षमा खोटाङका देवान राईले ६ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ ।

कोशी प्रदेशमा कूल ९ सय ९७ जना अधिवेशन प्रतिनिधि रहेकामा ९ सय ७७ जनाले मतदान गरेका थिए ।

Comments are closed.