राजश्वछलीका गाडी र मोटरसाइकल सहित तीन जना पक्राउ

काठमाडौं, १६ चैत

राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।

गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी  भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Comments are closed.