आज विश्व क्यान्सर दिवस ! नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ

काठमाडाैं । आज विश्व क्यान्सर (अर्बुद) दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउन लागिएकाे हाे । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् ।
दिवसकाे यस वर्षकाे नारा ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने तय गरिएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्ल्यूएचओको तथ्यांकमा उल्लेख छ । हरेक वर्ष ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ । क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।
खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने डब्ल्युएचओले जनाएको छ । स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुन सक्ने बताइन्छ । मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण पनि क्यान्सर हुने गरेकाे बताइन्छ ।
अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मानिस मृत्युकाे मुखमा पुग्छ । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा यसको उपचार गर्न सकिन्छ।
चिकित्सकहरूका अनुसार समयमै पहिचान हुनसके धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।

Comments are closed.