रेग्मीका दुई कृति सार्वजनिक

गोङ्गबुको ब्याडमिन्टन कोर्ट शान्ति समाजको आँगनमा साहित्यकार पुष्कर अथक रेग्मीको अक्षमाला (षडऋतु बालकाव्य) र अर्र्ती (शीत बालकथा) विमोचन तथा विमर्ष सम्पन्न गरिएको छ । शीतकाव्य समाज, वागमती प्रदेश तथा षड्ऋतु काव्य समाज नेपालको आयोजनामा काठमाडौको गोंगबुमा आयोजित एक कार्यक्रमका बीच फागुन ५ गते सार्वजनिक गरिएका दुई कृति मध्ये ‘अर्ती’ शीत काव्यात्मक बालकथा कृतिहो भने ‘अक्षमाला’ षड्ऋतु बालकाव्य कृतिहो ।
शीतकाव्य समाज वागमती प्रदेशका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. ११ का निवर्तमान वडा अध्यक्ष उत्तम अधिकारी हुनुहुन्थ्यो ।
विमोचित कृतिहरू नेपाली साहित्यको भण्डारमा झण्डै दुई दर्जन कृति प्रदान गरेका अथक स्रष्टा रेग्मीका २१औंँ र २२औँ कृति हुन् । दुबै कृतिको समीक्षा पुराणवाचक, साहित्यकार एवम् समीक्षक पण्डित नारायणाचार्य कौशिकले गर्नुभएको थियो । उहाँले दुबै कृतिको पद्यात्मक शैलीमा सटीक समीक्षा गर्नुभएको थियो जसले उपस्थित सबैलाई मुग्ध बनाएको थियो ।
कार्यक्रममा भूगोल साहित्यसमाजका अध्यक्ष एवम् ‘छेस्का कविता’का परिकल्पनाकार विनोद नेपाल, षड्ऋतुका परिकल्पनाकार सीताविष्ट कार्की, स्रष्टा चन्द्रा न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कल्पना भट्टराईले कृतिभित्रका केही रचनावाचन गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरूले कृतिकारलाई बधाई दिनुको साथै कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्रष्टा देबेन्द्रराज शाक्यको षड्ऋतु लघुतम् खण्डकाव्य कृति‘गोधूलि’को विमर्श गरिएको थियो । कृतिकार शाक्य र ‘गोधूलि’बारे डा शान्ता शाक्यले सङ्क्षिप्त चर्चा गर्नुभएको थियो ।
आगन्तुकहरूको स्वागत दामोदर ढकाल ‘दीपक’ले गर्नुभएको कार्यक्रमको सञ्चालन ‘जिज्ञासु’पौडेल तिलकले गर्नुभएको थियो ।

Comments are closed.