युक्रेनको आइसल्याण्ड माथि २-१ गोली जित

काठमाडौं । शान्तिका लागि तड्पिएका युक्रेनीलाई आइसल्यान्डमाथिको जितले भावुक बनायो  | युद्धग्रस्त युक्रेनले आइसल्यान्ड माथि २-१ गोलको जित हात पार्दै युरोकप यात्रा तय गर्यो । पहिलो हाफमा अल्बर्ट को गोलमार्फत आइसल्यान्डले अग्रता लिए पनि दोस्रो हाफमा भिक्टर र मड्रिचले गोल गर्दै युक्रेनलाई लगातार चौथो संस्करण छनोट गराए ।शान्तिका लागि तड्पिरहेका खेलाडी र समर्थक सायद युद्धका कारण भोगिरहेको पीडाबाट राहत चाहन्थे । त्यसैले त प्लेअफमार्फत छनोट भएको युक्रेनका खेलाडी जितपछि भावुक देखिए ।
रुसले युक्रेनको किएभ क्षेत्रमा आइतबार पनि बमबारीलाई निरन्तरता दियो । सोमबार एक आर्ट एकेडेमी र प्रदर्शनी हलमा भएको हवाई आक्रमणमा १० जना सख्त घाइते भए । हरेक दिन रुसी आक्रमण झेलिरहेको युक्रेन अहिले तहस-नहस बनेको छ । युद्ध सुरु भएयता युक्रेनी जनता सायदै खुसी भएका होलान् । तर मंगलबार मिखाइलो मड्रिडको विजयी जोलमा युक्रेन यूएफा पाथ बी प्लेअफमा आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युरो २०२४ का लागि छनोट भएपछि भने लामो समयपछि युक्रेनी जनताले थोरै भए पनि मुस्कुराउने अवसर पाए ।
दुई छिमेकी एक-अर्काको ज्यानको शत्रु बन्दा पक्कै पनि त्यसको असर सोचेभन्दा विकराल नै हुन्छ । यही बीचमा युक्रेनी फुटबल टोली पोल्यान्डमा निर्वासित हुन बाध्य छ । तर पनि मंगलबार राति भावनात्मक र नाटकीय खेलमा आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युक्रेन युरो कपमा छनोट भयो ।
जब रेफ्रीले अन्तिम सिठी बजाए र युक्रेन युरो कपमा अघि बढ्यो त्यहाँ उल्लास मात्र होइन, एक प्रकारको शोक थियो । थकितजस्तो देखिने खेलाडी अंकमाल गर्दै थिए । राहत र खुसीमा दुःखको आँसु पनि मिसिएको थियो ।
एउटा फुटबल प्रतियोगितामा छनोट हुँदा दुवै पक्षका मृतकलाई फिर्ता ल्याउन सकिँदैन । सहरहरू आफैं पुनर्निर्माण हुँदैनन् । गहिरा चोटहरु निको हुँदैनन् । तहस-नहस पार्ने गोली र मिसाइल रोकिँदैनन् । आफ्नो घरबाट पाँच सय माइल टाढा पोल्यान्डमा निर्वासित युक्रेनी खेलाडी घर फर्कन पाउँदैनन् । युक्रेनी खेलाडीलाई थाहा छ- उनीहरु निर्वासित छन् । त्यहाँका स्ट्यान्डहरू कहिल्यै उनीहरूको स्ट्यान्ड हुने छैनन् ।
यी सडक कहिल्यै उनीहरूको आफ्नो हुने छैनन् । यो मैदान कहिल्यै उनीहरूको हुने छैन । तैपनि उनीहरुले जितको उत्सव बनाए । किनभने यस्तो समयमा युक्रेनको नाम चिच्याउनु पनि एक प्रकारको प्रतिरोधमा भाग लिनुजस्तै हो भन्ने उनीहरुलाई थाहा थियो ।
युरो छनोटले युक्रेनलाई विश्वले नबिर्सन मद्दत गर्ने मिडफिल्डर भोलोडिमिर ब्राज्कोको भनाइ थियो । तर सायद विश्वले युक्रेनलाई केही बिर्सेको छ । र फुटबलले आगामी दिनमा यो राष्ट्र पुकार सुन्ने प्लेटर्फम प्रदान गरेको छ । आखिर भूराजनीति पनि फुटबलजस्तै एउटा खेल हो । जितपछि भावनात्मक भएका ब्राज्कोले लामो श्वास फेर्दै भनेका थिए ।

Comments are closed.