सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न उन्मुक्ति पार्टीको ‘अल्टिमेटम’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीलाई रिहा गर्न अल्टिमेटम दिएको छ। बिहीबार पार्टी प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे त्यसपछिका घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने उल्लेख छ।

विज्ञप्तिमा चौधरी पक्राउको घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीहरुमा ठूलो आघात परेको महसुस गरिएको उल्लेख छ। ‘हामीलाई जबरजस्त आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस्’, विज्ञप्तिमा भनिएको छ।
‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको, यो बीचमा उनी ४ पटक स्थानीय प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजय पश्चित यो मुद्दा किन उठ्यो र पूर्वाग्रही आँखाले किन हेरियो?’, विज्ञप्तिमा उल्लेख छ, ‘यो सम्पूर्ण आदिवासी थारु जाति, पहिचानवादीहरुको अर्को विभेद हो।’
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाका सांसद चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ गरेको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेको खुलेको थियो।

Comments are closed.