काठमाडौं, नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मतदानस्थलमा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले अहिले विद्युतीय मेसिनमार्फत मतदान गरिरहेका छन् ।यसअघि हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार मतदान ‘राम–लक्ष्मण’ विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ ।
सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे। एक जना प्रतिनिधिलाई मतदान गर्न ३० देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ।एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै नेता आफ्ना–आफ्ना प्यानलसहित मैदानमा उत्रिएका छन्।महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने केन्द्रीय कमिटीसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।






