बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पश्चिम बंगालले ल्याउने

नयाँ दिल्ली । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनबिच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छिन् ।
‘आगामी साता संसद्को बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छाैं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ । यो विधेयक स्वीकृत गरेनन् भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ उनले भनेकी छिन् ।
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ । मंगलबार विद्याजीहरूले राज्य सचिवालय अर्थात् नबन्ना भवनसम्म विरोध जुलुस निकालेका थिए । सो र्‍यालीका क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । यस मामिलामा ममताको राजीनामाको माग बढिरहँदा उनको यो अभिव्यक्ति आएको हो ।

 

Comments are closed.