इन्टरनेटमा तपाईँको फोटो कहाँ-कहाँ प्रयोग भइरहेको छ ? यस्तो छ पत्ता लगाउने तरिका

काठमाडौं । हाम्रो फोटो अनलाइनमा कहाँ-कहाँ प्रयोग भएको होला ? वा हाम्रो जस्तै अनुहार भएका मानिसहरू को-काे होलान् ? तपाईँलाई पनि यी जिज्ञासाले सताइरहेकाे हुनसक्छ ।

‘रिभर्स फेस सर्च’ यस्तो तरिका हो, जसले हाम्रो जस्तै फोटो वा हाम्रै फोटो इन्टरनेटमा कहाँ-कहाँ अपलोड भएको छ भन्ने कुराको जानकारी दिन्छ ।

आज हामी त्यस्ता साइटबारे जानकारी दिँदैछौँ, जसको सहायताले इन्टरनेटमा तपाईँको फोटो कहाँ-कहाँ अपलोड भएको छ भन्ने थाहा पाउन सकिन्छ ।

गुगल इमेज सर्च

गुगलमा टेक्स्ट राखेर मात्र होइन, फोटोबाट पनि धेरै कुरा सर्च गर्न सकिन्छ । तपाईंले गुगलको सर्चबारमा गएर क्यामेराको आइकनमा गएर वा सोझै यहाँ क्लिक गरेर फोटोबाट सर्च गर्न सक्नुहुन्छ ।

यसरी फोटो प्रयोग सर्च गर्दा उक्त फोटो कहाँ-कहाँ अपलोड भएको छ, त्यो फोटो के कुरासँग सम्बन्धित छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

गुगलले प्रायः तपाईंले अपलोड गरेको फोटोसँग मिल्लाजुल्दा फोटोहरू सर्च गर्ने गर्छ । यसरी इन्टरनेटमा तपाईंको फोटो कहाँ अपलोड भएको छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

पिमआईज

इन्टरनेटमा ‘पिमआईज’ नामक यस्तो वेबसाइट छ, जसको माध्यमबाट इन्टरनेटमा आफ्नो फोटो कहाँ-कहाँ अपलोड भएको छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

विशेषगरी प्रयोगकर्ताले उपलब्ध गराएको एउटै फोटोका आधारमा यस प्लेटफर्मले ‘फेसियल रिकग्निसन’ प्रयोग गरी अन्य फोटोहरू पहिचान गर्छ ।

कम्प्युटर अल्गोरिदमले अनलाइन पोर्टल, सामाजिक सञ्जाल वा अन्य कुनै पनि प्लेटफर्ममा तपाईँको फोटोसँग मिल्ने फेस देखाउँछ । जहाँबाट तपाईँले आफ्नो फोटो कहाँ-कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

यस प्लेटफर्मलाई तीन पटकसम्म निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यसपछि भने यो प्लेटफर्मका लागि पैसा तिर्नुपर्छ ।

निःशुल्क प्रयोग गरेको खण्डमा पनि तपाईंको कुन फोटो कहाँ भएको छ भन्ने देखिन्छ । तर, साइटको सबै लिङ्क भने देखिँदैन । यसरी त्यहाँ देखाइएको लिङ्कमा जानका लागि शुल्क तिरेको हुनुपर्छ ।

पिमआईजबाट इन्टरनेटमा अपलोड भएका फोटो पहिचान गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

–  सबैभन्दा पहिले यहाँ क्लिक गरेर पिमआइजको आधिकारिक वेबसाइटमा जानुहोस् ।

–  त्यसपछि पिमआइजको मुख्य पृष्ठमा ‘अपलोड अ फोटो’ सेक्सनमा क्लिक गर्नुहोस् ।

–   यति गरेपछि ग्यालरीबाट आफूले खोज्न चाहेको फोटो छान्नुहोस् ।

–  फोटो छानिसकेपछि ‘टर्म्स एन्ड कन्डिसन’ र ‘प्राइभेसी पोलिसी’ बक्सलाई क्लिक गर्नुहाेस् र ‘कन्टिन्यु’ बक्समा क्लिक गर्नुहोस् ।

–  यति गरेपछि तपाईंको अनुहारसँग मिल्दाजुल्दा अनुहार तथा तपाईँकै अनुहारको फोटो देखाउँछ ।

यसरी निःशुल्क तीन पटकसम्म विभिन्न व्यक्तिहरूको फोटो सर्च गर्न सक्नुहुन्छ । यो प्लेटफर्म निःशुल्क प्रयोग गर्दा सटीक रिजल्ट नआउन सक्छ । किनभने निःशुल्क प्रयोग गर्दा डिप सर्च वा सेफ सर्चका विकल्प उपलब्ध हुँदैनन् ।

फेसचेक आईडी

‘फेसचेक आईडी’ यस्तो प्लेटफर्म हो, जसले एआईद्वारा सञ्चालित फेसियल रिकग्निसन सर्च इन्जिनको प्रयोग गर्छ । यसबाट मानिसहरूको अनलाइन अकाउन्ट कुन-कुन छ, उनीहरूको फोटो कहाँ अपलोड भएको छ भन्ने पहिचान गर्न सकिन्छ ।

तपाईंले यस प्लेटफर्ममा आफूले खोज्न चाहेको फोटो कुनै प्लेटफर्ममा फेला पारे उक्त सूचनालाई ब्ल्याकमेल गर्ने वा व्यक्तिलाई दुःख दिने छैन भनेर स्वीकार्नुपर्छ । यति भएपछि उक्त फोटो कहाँ अपलोड भएको छ भन्ने कुराको जानकरी पाउन सकिन्छ ।

टिनआइज

टिनआइजको रिभर्स इमेज सर्च करिब गुगलको इमेज सर्चजस्तै छ । तपाईंले फोटो अपलोड गरेर वा फोटोको यूआरएल लिङ्क पेस्ट गरेर इमेज सर्च गर्न सक्नुहुन्छ ।

तर, यहाँ भएका सबै फोटो तपाईंसँग मिल्छ भन्ने हुँदैन । त्यसका लागि तपाईंको फोटो सार्वजनिक रुपमा उपलब्ध हुने प्लेटफर्ममा अपलोड भएको हुनुपर्छ ।

बेटाफोर्स

अन्य प्लेटफर्म जस्तै बेटाफोर्स पनि यस्तो वेबसाइट हो, जसको सहायताले तपाईंले खोजेको फोटो अनलाइनमा कहाँ-कहाँ छ भन्ने कुरा पहिचान गर्न सक्नुहुन्छ । यस प्लेटफर्ममा फोटो अपलोड गरेर वा सोझै लिङ्क पेस्ट गरेर पनि फोटो खोज्न सकिन्छ ।

यीबाहेक इन्टरनेटमा फोटो कहाँ-कहाँ अपलोड भएको छ भन्ने कुरा पहिचान गर्न सघाउने थुप्रै प्लेटफर्म छन् । यसअन्तर्गत हाउ नर्मल आई एम, एभ्री पिक्सेल,pictrievजस्ता प्लेटफर्मबाट अनलाइनमा भएका इमेज सर्च गर्न सकिन्छ । -साभार #Techpana

Comments are closed.