डिजिटल माध्यमबाट एसईईको नतिजा सार्वजनिक गर्ने कम्पनी खोज्दै परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच कार्यालयले २०७९ सालको एसईई को नतिजा डिजिटल माध्यमबाट सार्वजनिक गर्न इच्छुक सेवा प्रदायकलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

नतिजाको विवरण एसएमएस, इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) र वेबसाइटमार्फत  उपलब्ध गराउन इच्छुक संघ संस्था वा कम्पनीले मंगलबारभित्र आफूले उपलब्ध गराउने सेवाको विवरण खुलाएर कार्यालयमा निवेदन दिन सक्नेछन् ।

एसएमएसबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाले एकमुष्ट ४० हजार रुपैयाँ, वेबसाइटबाट प्रकाशित गर्नेले २० हजार रुपैयाँ, एसएमएस र वेबसाइटका लागि ६० हजार रुपैयाँ, एसएमएस, आईभीआर र वेबसाइटबाट प्रकाशित गर्ने संस्थाले एक लाख रुपैयाँ राजस्व बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

सो राजस्व रकम आन्तरिक राजश्व कार्यालय भक्तपुरको कार्यालय कोड ३०५०४३३००१ को राजस्व शीर्षक नं. १४२२३ मा जम्मा गर्नुपर्ने बताइएको छ । निवेदन पेश गर्दा प्रस्तावदाताले खाम बाहिर एसएमएस (SMS), आईभीआर (IVR) तथा  वेबसाइट (Website) सेवासम्बन्धी प्रस्ताव भनी स्पष्ट उल्लेख गर्नुपर्ने कार्यालयले जनाएको छ ।

इच्छुक सेवा प्रदायकले पालना गर्नुपर्ने शर्तहरू

१. संघ संस्था वा कम्पनी प्रचलित कानून वमोजिम दर्ता भएको हुनुपर्नेछ ।

२. संघ संस्था वा कम्पनी भ्याट/प्यानमा दर्ता भएको छ।

३. एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार रुपैयाँ, वेबसाइटबाट प्रकाशनका लागि २० हजार रुपैयाँ, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार रुपैयाँ, एसएमएस, आईभिआर र वबेसाइट सेवाका लागि एकमुष्ट एक लाख रुपैयाँका दरले सेवा उपलब्ध प्रयोजनका लागि राजस्व बुझाउनु पर्नेछ ।

४. उक्त राजश्व रकम आन्तरिक राजश्व कार्यालय भक्तपुरको कार्यालय कोड ३०५०४३३००१ को राजस्व शीर्षक नं १४२२३ मा जम्मा गर्नुपर्नेछ ।

५. असार १३ गते दिनको १:०० बजे प्रस्ताव दाताको रहोवरमा प्राप्त प्रस्तावहरू रा.प बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० भक्तपुरमा खोलिनेछ । सो दिन विदा परेमा विदापछि लगतै कार्यालय खुल्ने दिन खोलिनेछ। प्रस्तावदाता उपस्थित नभएमा पनि प्रस्ताव खोल्न वाधा पर्ने छैन।

६. प्रस्ताव पेस गर्दा खाम बाहिर एसएमएस, आईभीआर तथा वेबसाइट सेवासम्बन्धी प्रस्ताव भनी स्पष्ट उल्लेख गर्नुपर्दछ ।

७. राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा प्रकाशन गरेपछि मात्र नतिजा सम्बन्धी विवरण उपलब्ध गराइनेछ ।

८. नतिजा सम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औं दिनबाट अनिवार्य बन्द गर्नुपर्नेछ ।

९. विगतमा यस्तो सेवा उपलब्ध गराउन नतिजा सम्बन्धी विवरण प्राप्त गरेका संस्थाहरूले सेवाप्रदायक संस्थाबाट विवरण प्रमाणित गराई राजश्व रकम जम्मा गर्न बाँकी भएमा राजस्व रकम जम्मा गरेपछि मात्र निवेदन दिन सक्नेछन् ।

१०. नतिजा सम्बन्धी विवरण उपलब्ध गराउने वा नगराउने अधिकार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रहनेछ ।

११.सेवा प्रदायक संस्थालाई मात्र वेबसाइट मार्फत सेवा प्रदान गर्न अनुमति दिइनेछ ।

१२.अन्य आवश्यक शर्तहरू सम्झौता पत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

१३. सर्त बन्देज पालना नभएमा तथा यस कार्यालयको स्वीकृति बेगर नतिजाको तथ्याङ्क प्रकाशित गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

TECHPANA

Comments are closed.