योमरी पूर्णिमा (योमरी पुन्हि) र उधाैली पर्व मनाइयो

काठमाडाैं । याेमरी पूर्णिमा, धान्य पूर्णिमा र उधाैली पर्व मनाइएकाे छ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएकाे हाे । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लाससाथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस दिनलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त भएका थिए । नुहाइधुवाइ, घरमा लीपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवान्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठ सक्व बताउनुहुन्छ । योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि छ ।
नेवार समुदायले आज २१औं राष्ट्रिय ज्यापु दिवस पनि मनाएका छन् । ज्यापु संस्कृतिको रक्षार्थ वि.सं.२०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बिउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ ।
आज नै किरात समुदायले चासोक तङ्नाम (उधौली) पर्व मनाएका छन् । उधौली किरात समुदायको मुख्य चाड हो । अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वको महत्त्व छ । बिहान सबेरै भूमिपूजा गरी आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले मंसिर पूर्णिमामा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
याेमरी पूर्णिमा र उधाैली पर्वकाे अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.