काठमाडौंमा बस्न नसकेका ठूला जहाज सिँधै भारत: भैरहवा र पोखराले किन गर्न पाएन स्वागत ?

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज सिँधै भारत डाइभर्ट हुने क्रम रोकिएको छैन । वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भएपनि जहाज भने सिँधै भारत पठाइने गरेको हो ।
बिहीबार पनि मौसम खराब भारतको मुम्बईबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाज खराब मौसमका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन । नेपालमा दुई वैकल्पिक विमानस्थल हुँदाहुँदै ती विमानस्थलमा अवतरण नभई सोझै भारतको लखनउ डाइभर्ट गरिएको थियो । विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउमा अवतरण हुने गरेका थिए । अहिले देशभित्रै तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भए पनि भारततर्फ डाइभर्ट हुने समस्या भने ज्युँका त्युँ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम नरोकिएको हो । आफ्नै दुई वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत विमान किन भारत पठाइन्छ ? भन्ने प्रश्नमा जवाफ दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जहाजले उडान भर्नुअघि नै वैकल्पिक विमानस्थल खुलाउने प्रावधान अनुसार कहाँ अवतरण गर्ने भनेर पहिले नै प्रस्ट भइसक्नुपर्ने भएका कारण जहाज लखनउ डाइभर्ट भएको तर्क गरे ।
ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसन सिस्टमलगायतका कारण यसो हुन गएको उनको भनाई छ । ‘खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण (मिस्ड एप्रोच) गर्न नसक्ने भएपछि जहाज लखनउ डाइभर्ट भयो । लखनउमा इन्डिगोको आफ्नै ग्राउन्ड स्टाफ, प्राविधिक जनशक्ति, प्राविधिक, इन्धन र आपत्कालीन उपकरणको व्यवस्था भएकाले त्यसतर्फ डाइभर्ट भएको हो । ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसन सिस्टमलगायतका कारण ककपिटलाई ग्राउन्डबाट यहीँ ग्राउन्ड गर भनेर बाध्य पार्न पनि त मिल्दैन,’ प्रमुख तिवारीले भने ।
काठमाडौँमा वर्षा, हावाको गति र भिजिबिलिटी कम हुँदा भैरहवा र पोखरामा पनि त्यस्तै हुन्छ भन्ने अवस्था भने हुँदैन । यस्तो अवस्थामा भारततर्फ डाइभर्टले निरन्तरता पाउनुमा हवाई कम्पनीले भैरहवा र पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा नलिनु पनि एक प्रमुख कारण हो ।

Comments are closed.