ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।
हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउछन् । यसपटकको हिमपात यो वर्षकै ठुलो भएको अदैको भनाइ छ ।
“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र बिहीबार दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भने, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”
गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।
ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए ।
Trending Now
- Foreign Minister of Japan, KAMIKAWA Yoko paid a courtesy call on Nepal Prime Minister Prachanda today
- Deputy Prime Minister and Minister for Foreign Affairs Mr. Narayan Kaji Shrestha and H.E. Foreign Minister of Japan Ms. KAMIKAWA Yoko held bilateral talks
- Hamas delegation heads to Cairo to resume cease-fire talks
- KAMIKAWA Yoko, Foreign Minister of Japan arrived in Kathmandu this morning
- वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति साहित्य सम्मान समर्पण
- साहित्य सङ्गम मकवानपुर कृति सम्मानका लागि उत्कृष्ट पुस्तकको सूची सार्वजनिक
- ‘गण्डकी प्रज्ञा साहित्य’ सम्मान कवि भूपिनलाई
- सुरेश राईको कविता सङ्ग्रह ‘सम्झनाको फोटोकपी’ लोकार्पण
- भीम विराग संगीत साहित्य कला प्रतिष्ठानद्वारा नौ स्रष्टा सम्मानित
- काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने
Comments are closed.