मेरो प्रेमको कथा

म अलपत्र थिएँ

हुरी चलेको थियो मनभरीएर

बाँझो धर्तिमा काँडाघारी थियो जीवन

खडेरीमा तप तप ओइलिँदै

जीवनका पाइलाहरू गन्तव्य विहीन थिए

तिमी आयौ हरियाली आयो

त्यो अधरको सुन्दरता

तिम्रो कोमलता

मैंले त्यहाँ

प्रेम दिवसको मेला देखें

शाली नदीमा पार्वतीले वालुवाको लिंग बनाएझैं

मेरो मनमा  तिम्रो आराधना देखें

राधाले कृष्णको मुरलीधुनमा आफूलाई

निथ्रुक्क डुबाएझैं यो मनको मझेरीमा

अँगालो भरी तिमीलाई कसें

गीत बजीरहे मायालु धुनमा

अरु केही सुनेनन् कर्णहरूले

यी आँखाहरुले तिम्रो मुहार बाहेक

केही देखेनन्

भन्नेहरू त भन्थे

त्यहाँ धेरै भिड़ छ

कोलाहल छ

धुवाँ नै धुवाँ छ

तर यी आँखाहरुले केवल तिमी देखे

यी कानले केवल तिमी सुनेँ

न भिड़ थियो न कोलाहल थियो

त्यहाँ त यो मनमा

मनभरी भरी मायानै मायाका

सुमधुर अतिनै कर्णप्रिय गीतहरू सुनेँ

 

तिम्रो अनमोल प्रेम भावमा

व्यस्त भएको बेला

यो मन तिम्रो मायाको बजारमा

तिम्रै काखमा लिलामीमा भेटें

माया साँच्चै सुन्दर र ईमान्दार हुँदोरहेछ

लाग्छ हजारौं मायाका पारखीहरूले भनेझैं

मायाका लीलाहरू हे कृष्ण

आकाश दिउसो सूर्य भएर

चन्द्रमासँग रात भएर

अनन्त बाँचीरहने छन् जीवन्त भएर

बजीरहने छन् कर्णप्रिय प्रेमका गीतहरू

सुन्दर फूलहरू फूलिरहेछन् बगैंचामा

के त्यही त होला नि प्रेम

त्यसैमा होली रंगीन हुनु नै होला प्रेमिल जीवन

 

कति सुमधुर छ कति मुलायम छ

सलल बगेको छ कंचन झरना

तरंगित बनाएर जीवनको झंकार

त्यही सुन्दर फाँटमा बाँचेको छ मायाको संसार

जहाँ महंगा महलहरूमा सुन चाँदीको मूल्य छैन

मेरो प्रेमको कथा ।

 

 

एस.आर. ढकाल

अमेरिका

Comments are closed.