सेनाले सुस्तामा पुस्तकालय बनाउँदै

पश्चिम नवलपरासी- नेपाली सेनाको गोरखदल गण परासीले पश्चिम नवलपरासीको सुस्तामा पुस्तकालय निर्माण थालेको छ । सुस्ता गाँउपालिका वडा नम्बर ५ स्थित नारायणी पारीको सुस्ता गाँउमा रहेको एक मात्र जनता दलित आधारभुत विद्यालयमा सेनाले साढे १३ लाखको लागतमा पुस्तकालय निर्माण थालेको हो ।
पिछडिएको क्षेत्रको रुपमा चिनिने नारायणी पारीको सुस्ता गाँउमा शिक्षक विद्यार्थीलगायत स्थानियलाई समेत अध्ययनमा सघाउ पुगोस् भन्ने हेतुले पुस्तकालय निर्माण थालिएको नेपाली सेनाका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख सेनानी श्रेष्ठकै पहलमा पुस्तकालयका लागी साढे पाँच सय बढि पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रमुख सेनानी श्रेष्ठले पुस्तक हस्तान्तरण गर्नुभएको हो ।झन्डै एक लाख बराबरका विभिन्न विधाका ती पुस्तक प्रमुख सेनानी श्रेष्ठसहित धादिङ्गको त्रिपुरासुन्दरी-२ सल्यानटार निवासी भरत खत्री र जगतनारायण श्रेष्ठ, निलकण्ड-५ धादिङ्गका बाबुकृष्ण श्रेष्ठको व्यक्तिगत लगानी र रत्नपुस्तक भण्डार लगायतका संघ संस्थाको सहयोगमा खरिद गरिएको हो ।

Comments are closed.