सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको हो। असार १० गते २४ जना, असार ११ गते ६८ जना, असार १२ गते १९१ जना, असार १३ गते ११३ जना, असार १४ गते १९२ जना र शुक्रबार ९१ जनाले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा एक सातादेखि जन्मसिद्धका सन्तानको नागरिकता प्राप्तिका लागि अत्यधिक भीड छ। हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा पनि उत्तिकै भीडभाड छ। भीड धेरै हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको र नागरिकता वितरणलाई पारदर्शी बनाउन भन्दै अनलाइन टोकन प्रणाली लागू गरी सेवा दिने काम भइरहेको छ।

यसअघि पटक–पटक खुल्दै बन्द हुँदै गरेकाले पुनः नागरिकता वितरणको काम बन्द हुने आशंकाले सबैजना एकैचोटि कार्यालयमा पुग्दा जिल्ला प्रशासन तथा इलाका प्रशासनलाई भीड थेग्नै मुस्किल परेको छ।

प्रजिअ यादवले आजसूचना जारी गर्दै जन्मको आधारमा नागरिकता लिएका सन्ततिका लागि नयाँ नागरिकता प्रदान गर्ने सिलसिलामा कार्यालयमा सेवाग्राहीको अत्यधिक भीडको फाइदा उठाइ सेवाग्राहीबाट अनुचित रकम लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

कार्यालय परिसरभित्र बिचौलियालाई प्रवेशमा पूर्ण निषेध गरिएकाले यदि कसैले कार्यालय परिसरमा प्रवेश गरी अनुचित लाभ उठाउन दुष्प्रयास गरेको पाइए शान्ति सुरक्षा र अपराधविरुद्धको मुद्दा चलाइने उल्लेख छ।

Comments are closed.