समिरको काव्य कृति ‘प्रिय दुश्मन’ लोकार्पण

स्याङ्जा, कवि मिलन समीरद्वारा लिखित काव्य कृति “प्रिय दुश्मन” को शनिबार एक साहित्यिक कार्यक्रमका बिच लोकार्पण गरिएको छ। वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा वालिङमा भएको उक्त लोकार्पण कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यिक एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा  “प्रिय दुश्मन” को लोकार्पण साहित्यकार देवीप्रसाद वनवासी, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र कविका मातापिताले सयुक्त रूपमा  गर्नुभएको हो ।

काव्यकृतिमाथि साहित्यकार लक्ष्मण वियोगी र लेखक सञ्जीव पौडलले समीक्षा प्रस्तुत गर्नुभएको थियो । साहित्यकार लक्ष्मण वियोगीले प्रिय दुश्मनभित्र मानवताको भावना उजागर गर्न खोजिएको तथा मान्छेलाई मान्छेकै रुपमा स्वीकार्नका लागि आवाज उठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजका खराब प्रवृत्तिहरूलाई निरन्तर सुधार गर्दै लैजान सकिने एउटा अठोट एवम् नराम्रोमा चेतनाको पाइन हालेर राम्रो बनाउन सकिने गतिशील शृङ्खला कविताको सबैभन्दा बलियो पक्षको रूपमा उभिएको छ ।”

समीक्षात्मक टिप्पणी गर्दै युवा साहित्यकार सञ्जिव पौडेलले भन्नुभयो, ‘प्रिय दुश्मन’ काव्य कृतिका ३१ वटै कविताले समाजको बेथितिको चित्रण सँगसँगै र माटोको मायालाई पनि अभिव्यक्त गरेका छन् । एउटै शीर्षकमा शृङ्खलाबद्ध रूपमा ३१ वटा कविता लेखिएकाले काव्यकृतिमा प्रयोगधर्मीता पनि पाइन्छ। कवितामा देशप्रेमका साथमा विद्रोह पनि पाइन्छ।”

कवितामा व्यक्त भएको विद्रोहको चेतनालाई बोक्ने उपयुक्त भाव र भावअनुसारका उपयुक्त शब्दावलीको प्रयोग नहुँदा कविता सोचेजस्तो बन्न नसकेको पौडेलको टिप्पणी थियो । उनले कवितामा कर्णकटु शब्दावलीको बढी प्रयोग गरिएकाले लालित्य भाव पैदा हुन नसक्दा कविता केही कमजोर बन्न पुगेको बताउनुभएको थियो ।

Comments are closed.