काठमाडौं – कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ । किताबजात्रा, नेपाल पुलिसक्लब, भृकुटीमण्डपमा आयोजित पुस्तक लोकार्पण समारोहमा साहित्यकार, समालोचक, पाठक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

द्वैभाषिक (नेपाली–अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविको मूल नेपाली कवितासँगै उनका १४ वर्षीय छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ ।
कृति शरीर, मन र आत्मानामक तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम–वियोग र दार्शनिक चिन्तनका विभिन्न तहहरू समेटिएको छ ।
कार्यक्रमको विशेष आकर्षण कवितावाचन कार्यक्रम थियो, जहाँ कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपालीमा वाचन गरे र त्यसपछि सम्राटले सोही कविताहरू अंग्रेजीमा प्रस्तुत गरे ।






