सिन्धुली– साहसिक प्रहरीकार्य गर्ने प्रहरी निरीक्षक सपना खड्कालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंसिर महिनाको उत्कृष्ट प्रहरी छनौट गरेको छ ।
इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए ।
उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका ५ प्रतिवादीलाई पक्राउ गरेकी थिइन् । खड्काले दुधौली नगरपालिका– १४, गायोटार बस्ने कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आ–आफ्ना घर नजिकै बनमारा झाडीमा लुकाएर राखेका अवैध भरुवा बन्दुक फेला पारेकी थिइन् । सुनुवारद्वयलाई उनले कानूनी दायरामा ल्याएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न समयमा भएको सवारी दुर्घटनाको प्रभावकारी तथा शान्तिपूर्ण व्यवस्थापन गर्न खड्का सफल भएकी छन् । उनले आफ्नो कार्यक्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लैंङ्गिक हिंसा विरुद्ध, लागूऔषध नियन्त्रण सम्बन्धी, ट्राफिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले विभिन्न कसूरमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उनका कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।






