काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिँदैछ । यस वर्षको संस्करणले डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित ध्यान दिगो पेसागत व्यवसायहरूतर्फ मोड्दै उक्त महत्त्वपूर्ण मञ्चमा उल्लेखनीय परिवर्तन गरेको छ । विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौंमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुनेछ ।
रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म, यसवर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित छ । प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’ लाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्नेछ ।
‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्साउँछ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने । ‘नेपालभर ज्ञान, सीप र सञ्जालहरूलाई बढवा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्याउँदै छौँ । हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारहरूमाझको सफलताका लागि तयार पार्दै छौँ, जसले अझ गहन आर्थिक सम्बन्धहरू र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ ।’ प्रतिभा र विज्ञताको पावरहाउस स् मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारहरूको विशिष्ट पङ्क्तिको उपस्थिति रहनेछ ।
सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली आवाजहरूका यात्राबाट सिक्ने र प्रस्तुतिको अनुभव लिने अद्वितीय अवसर पाउनेछन् । अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलहरूमार्फत यी अग्रणी व्यक्तित्वहरूले आफ्नो डिजिटल उपस्थितिलाई देशव्यापी प्रभावमा परिणत गरेका रणनीतिहरूबारे पनि बताउनेछन् ।
तत्क्षण मार्गदर्शन स् काठमाडौँमा हुने कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ जसको केन्द्रमा उद्यमीहरूको आगामी पुस्ता रहनेछ । छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यमबारे प्रत्यक्ष रूपमा बताउनेछन् र तत्क्षण प्रतिक्रिया तथा उच्चस्तरीय मार्गदर्शन प्राप्त गर्नेछन् ।
बढ्दो विरासत स् सन् २०२३ मा सुरुवात भएदेखि नै क्रिएटर्स मेला नेपालको डिजिटल परिदृश्यको मुख्य केन्द्रका रूपमा रहेको छ । हाल मेलाको चौथो संस्करण २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्याउनप्रति अमेरिकी दूतावासको समर्पणको पुनर्पुष्टि गर्दछ ।
अग्रिम दर्तासहित सहभागिता निःशुल्क छ ।








Discussion about this post