रन्जना निरौला
देश विकास गर्छु भनेर उदाएका नयाँ राजनीतिक शक्तिहरूले अवसर पाउनु पनि लोकतन्त्रको स्वाभाविक सौन्दर्य हो । वर्षौँदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट वाक्कदिक्क भएका जनताले नयाँ अनुहारमा आशा देख्नु अस्वाभाविक होइन । यो त परिवर्तनको स्वाभाविक चाहना हो, तथापि पुराना दलहरूले आफ्नो वर्चस्व जोगाइराख्न नसक्नु केवल चुनौती मात्र होइन, आत्ममन्थन र सुधारको एउटा गहिरो पाठ पनि हो ।
यसपटकको संघीय संसदको निर्वाचन परिणामले अन्य दलहरूसँगै नेपाली काँग्रेसलाई पनि अपेक्षित सफलता दिन सकेन । तर काँग्रेसका लागि चुनावी अंकगणितभन्दा पनि ठूलो कुरा लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र देशलाई दीर्घकालीन राजनीतिक अस्थिरताबाट मुक्त गराउने दायित्व हो । यही मूल्य र आदर्शमा उभिएर काँग्रेसले आफ्नो यात्रा तय गरेको छ । हालैको निर्वाचन परिणामले नेपाली काँग्रेसलाई दोस्रो स्थानमा पु¥याएको छ । लोकतन्त्रमा जनमत नै अन्तिम निर्णायक शक्ति हो, त्यसैले परिणामलाई सम्मान गर्नु लोकतान्त्रिक संस्कारको आधारभूत मूल्य हो । तर कुनै पनि निर्वाचन परिणामलाई केवल एक व्यक्तिको असफलता वा कमजोरीसँग जोडेर हेर्नु न्यायसंगत हुँदैन चुनाव परिणाम अनेक सामाजिक, राजनीतिक, संगठनात्मक र परिस्थितिजन्य कारणहरूको समष्टिगत प्रतिफल हो ।
नेपालको लोकतान्त्रिक राजनीतिमा परिवर्तन, बहस र आत्मसमिक्षा सधैँ आवश्यक मानिन्छ । यही सन्दर्भमा गगन थापा नेपाली काँग्रेसभित्र निरन्तर सुधार र रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएका सक्रिय र स्पष्टवक्ता नेता हुन् । पार्टीभित्रका वेथिति, कमजोरी र आवश्यक सुधारबारे खुलेर बोल्ने साहस कम नेतामा मात्र देखिन्छ, र गगन थापा ती थोरैमध्येका एक हुन् । आज सभापतिको हैसियतले थापालाई जिम्मेवारीको अनुभूति हुनु स्वाभाविक कुरा हो, तर त्यसको अर्थ तुरुन्तै राजीनामा दिनु मात्र समाधान हो भन्ने होइन । बरु यस्ता कठिन समयमा नेतृत्वले आत्मविश्लेषण गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाउने साहस देखाउनुपर्छ ।
विगत हेर्दा नेपाली राजनीतिमा निरन्तर परिवर्तनको स्वर बनेर उभिएका नेता हुन् गगन थापा । नेपाली काँग्रसको भित्री जीवनमा सुधार, पारदर्शिता र नयाँ सोचको आवश्यकता औँल्याउँदै उनले बारम्बार आवाज उठाएका छन् र थिए । पार्टीभित्रैका वेथिति र कमजोरीविरुद्ध बोल्नु सजिलो हुँदैन, तर गगन थापाले त्यो जोखिम सधैँ उठाएका प्रमाण हामीसँग छन् । गगन थापाले पार्टीभित्र बहसको ढोका खोले, नयाँ पुस्तालाई बोल्ने साहस दिए र परिवर्तन सम्भव छ भन्ने आशा जगाए । यस्तो आवाजलाई मौन गराउने होइन, अझ जिम्मेवार बनाउँदै अगाडि बढाउनु समयको माग हो ।
आज काँग्रेसलाई सबैभन्दा बढी आवश्यक भएको कुरा स्थिरता, आत्मसमीक्षा र भविष्यको स्पष्ट रणनीति हो । गगन थापाले विगतदेखि नै पार्टीभित्र सुधार, पारदर्शिता र नयाँ पुस्ताको सहभागितालाई जोड दिँदै आएका हुन् । उनी नेतृत्वमा हुँदा पार्टीभित्र बहसको संस्कृति बलियो भएको छ । यस्तो समयमा सुधारको आवाज उठाउँदै आएको नेतृत्वलाई हटाउनु भन्दा त्यसलाई अझ जिम्मेवार र सक्रिय बनाउनु नै बुद्धिमानी हुन्छ । काँग्रेसले अहिले सबैभन्दा महत्वपूर्ण रूपमा जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने आवश्यकता महसुस गर्नुपर्छ । जनताको विश्वास जित्ने बाटो भनेको लोकहितमा काम गर्नु, आवश्यक संवैधानिक सुधारका विषयमा सहमति खोज्नु र लोकतान्त्रिक मूल्यप्रति दृढ प्रतिबद्धता देखाउनु नै हो । राजनीतिमा हार र जित स्थायी हुँदैनन् ।
इतिहासले देखाएको छ, हारबाट सिकेर अगाडि बढ्ने पार्टीहरू नै भविष्यमा बलियो भएर फर्किएका छन् । काँग्रेसको गौरवशाली इतिहास पनि यही संघर्ष, आत्मसमीक्षा र पुनर्निर्माणको कथा हो । त्यसैले अहिलेको अवस्थामा गगन थापाको राजीनामा न त आवश्यक विकल्प हो, न त समाधान । आवश्यक कुरा भनेको अनुभव र ऊर्जाको संयोजन गर्दै पार्टीलाई पुनः सुदृढ बनाउने संकल्प हो । हारबाट पाठ सिक्दै नयाँ दृष्टि र योजनाका साथ अघि बढ्दा मात्र काँग्रेसले हराएको जनविश्वास पुनः जित्न सक्छ । र आजको आवश्यकता परिणामलाई आधार मानेर निराशा फैलाउने होइन, आशा र सुधारको बाटो खोज्ने हो । र त्यो यात्रामा गगन थापा जस्ता सुधारमुखी नेतृत्वको निरन्तरता काँग्रेसका लागि अझ महत्त्वपूर्ण र आवस्यक बन्छ ।
आज हारको धुलोबाट उठ्ने साहस गगन थापाले गर्नु पर्छ । गगन थापा सभापति हुँदा मात्र काँग्रेसले चुनाव हारेको होइन । काँग्रेसको इतिहासमा सभापतिले चुनावी पराजय भोगेका उदाहरणहरू पनि छन् । त्यसैले अहिले राजीनामा नै समाधान हो भन्ने सोच उचित होइन । बरु गम्भीर समीक्षा गर्दै, सबैलाई समेट्दै, साहस, विश्वास र आशाका साथ पार्टीलाई अघि बढाउनु नै उत्तम विकल्प हो । लोकतन्त्रको यात्रामा कहिलेकाहीँ विजयका फूलहरू फुल्छन्, कहिलेकाहीँ पराजयका काँडाहरू पनि बाटोमा उम्रिन्छन् यिनीहरू सँगसँगै यात्रा गरिरहनु नै तठस्थ र सुन्दर यात्रा हो । इतिहासले पनि सधैँ एउटै कुरा भन्छ हार अन्त्य होइन, नयाँ आरम्भको संकेत हो ।
हालको निर्वाचन परिणामले काँग्रेसलाई दोस्रो स्थानमा पु¥याएको छ । जनमतको सम्मान गर्नु लोकतन्त्रको सौन्दर्य हो । तर चुनाव परिणाम कुनै एक व्यक्तिको सफलतामा मात्र होइन, असंख्य परिस्थितिहरू, समयको मनोविज्ञान र जनभावनाको तरङ्गमा पनि निर्भर हुन्छ । कहिलेकाहीँ जनलहर त्यस्तो हुन्छ, जसले परिणामको दिशा नै मोडिदिन्छ । त्यसैले यो हारलाई केवल सभापतिको जिम्मेवारीमा सीमित गरेर हेर्नु न त न्यायसंगत हुन्छ, न त दूरदर्शी । नेतृत्व भनेको आँधीमा जहाज छोडेर भाग्नु होइन, आँधी पार गराएर किनारामा पु¥याउने साहस हो । आज काँग्रेसलाई चाहिएको कुरा दोषारोपण होइन आत्मसमीक्षा हो, निराशा होइन नयाँ विश्वासको निर्माण हो । जनताको मन जित्ने बाटो पनि त्यहीँबाट खुल्छ, जहाँ लोकहितका मुद्दाहरूमा स्पष्टता, संविधान सुधारका आवश्यक पहल र जनतासँगको सच्चा सम्बन्ध पुनः निर्माण हुन्छ । राजनीतिमा हार क्षणिक हुन्छ, तर सिकाइ स्थायी हुन्छ । काँग्रेसको इतिहास पनि यही संघर्ष र पुनर्जागरणको कथा हो जहाँ हरेक पटक अँध्यारोपछि उज्यालो आएको छ । त्यसैले आज गगन थापाको राजीनामा खोज्नु कदापी समाधान होइन । समाधान भनेको अनुभव, ऊर्जा र परिवर्तनको चाहनालाई एकसाथ जोडेर नयाँ बाटो बनाउनु हो । किनभने कहिलेकाहीँ पराजय पनि भविष्यमा विजयका बीउहरू रोप्ने मौसम हुन्छ । र सम्भवतः आज काँग्रेस त्यही मौसमको बीचमा उभिएको छ ।








Discussion about this post