काठमाडौँ – भारतकी वरिष्ठ काङ्ग्रेस नेतृ तथा राज्यसभा सदस्य सोनिया गान्धी अस्वस्थ भएकी छन् । सोनियाको नयाँ दिल्लीस्थित सर गंगा राम अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
अस्पतालका अध्यक्ष डा. अजय स्वरूपका अनुसार उनलाई प्रणालीगत संक्रमणका लागि एन्टिबायोटिक औषधिबाट उपचार गरिएको छ । उनका अनुसार उपचार डा. डी.एस. राणा, डा. एस. नन्दी र डा. अरूप बसुको निगरानीमा भइरहेको छ र औषधिको प्रभाव पनि देखिन थालेको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलबार राति करिब साढे १० बजे अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले पेट र मूत्र मार्गमा संक्रमणको आशंकामा विभिन्न परीक्षण गरिएको जनाएको छ । रिपोर्ट आएपछि थप उपचार योजना तय गरिने बताइएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र कुनै गम्भीर खतरा नरहेको चिकित्सकले जनाएका छन् ।
यसैबीच उनका छोरा तथा काङ्ग्रेस सांसद राहुल गान्धी अस्पतालमै बसेर आमाको हेरचाह गरिरहेका छन् । आमाको स्वास्थ्य अवस्थाकै कारण राहुल गान्धी सर्वदलीय बैठकमा सहभागी भएनन् भने उनको केरला भ्रमण पनि रद्द गरिएको बताएका छन् ।







Discussion about this post