काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेर अपरिपक्व कदम चालेको टिप्पणी गरेकी छिन्। शनिबार प्रेस विज्ञप्ति जारी aगर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएकाले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको बताएकी हुन्।
‘सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो । लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ,’ भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन स्वयंमा पूर्ण नभएको उल्लेख गरेकी छन् ।पूर्व राष्ट्रपतिले सरकारले संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासको पालना गर्दै निर्णय पुनर्विचार गरेर फिर्ता लिन आग्रह गरेकी छन् ।साथै, सरकारलाई संयमित र विधिसम्मत ढंगले अघि बढ्न सचेत गराएकी छन् ।








Discussion about this post