काठमाडौं — वैदेशिक रोजगार विभागले नियम उल्लंघन गरेको आरोपमा १६३ वटा म्यानपावर एजेन्सीलाई कारबाही गरेको छ। विभागका अनुसार स्वीकृति नलिई विदेशी विमानस्थलमार्फत कामदारलाई वैदेशिक रोजगारीमा पठाएको तथा मागिएको विवरण उपलब्ध नगराएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो।
विभागका अनुसार ३९ वटा म्यानपावर एजेन्सीले विभागको पूर्वस्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ।
यस्तै, विभागले मागेको विवरण उपलब्ध नगराएका १२४ वटा म्यानपावर एजेन्सीमाथि पनि साउन १९ गतेको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
विभागले १६३ वटै म्यानपावर एजेन्सीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको छ। साथै, विवरण उपलब्ध नगराएका १२४ एजेन्सीलाई किन जरिबाना नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
यसअघि विभागले सूचना जारी गर्दै २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पठाइएका कामदारहरूको उडान विवरण उपलब्ध गराउन सबै म्यानपावर एजेन्सीलाई निर्देशन दिएको थियो।







Discussion about this post