काठमाडौं — सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाका विभिन्न चार समितिसहित संयुक्त संसदीय समितिको बैठक बस्ने भएको छ। बैठकहरूमा मुलुकको वर्तमान अवस्था, समसामयिक राष्ट्रिय विषय, नीति कार्यान्वयन तथा विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त सदन) को बैठक आज दिउँसो २ः३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्नेछ। उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूको सहभागिता रहनेछ।
बैठकमा मुलुकको वर्तमान अवस्था, समसामयिक राष्ट्रिय विषय तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको अवस्थाबारे छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज छुट्टाछुट्टै समय र स्थानमा बस्ने कार्यक्रम रहेको छ।
समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विधेयक, नीतिगत विषय, मन्त्रालयगत कामकारबाही तथा समसामयिक सरोकारका विषयमा छलफल गर्नेछन्। आवश्यक परे सम्बन्धित मन्त्रालय र निकायलाई सुझाव तथा निर्देशनसमेत दिने अपेक्षा गरिएको छ।
संसदीय समितिहरूलाई सरकारका कामकारबाहीको प्रभावकारी अनुगमन, नीतिगत सुधारका लागि सुझाव तथा आवश्यक निर्देशन दिने महत्वपूर्ण संयन्त्रका रूपमा हेरिन्छ। आजका बैठकहरूबाट विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय, निर्देशन तथा नीतिगत सुझाव आउने अपेक्षा गरिएको छ।








Discussion about this post