काठमाडौं — वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ १८ वर्षपछि पुनः नेपालयको ‘आर’शालामा आयोजना हुने लोकप्रिय सांगीतिक कार्यक्रम पलेँटीको मञ्चमा उत्रिने भएका छन्। यसपटक उनी आफ्ना छोरा तथा गायक यमन श्रेष्ठसँग संयुक्त प्रस्तुति दिने तयारीमा छन्।
मदनकृष्णले कार्यक्रममा आफ्ना चर्चित पुराना गीतसँगै केही नयाँ गीत पनि प्रस्तुत गर्नेछन्। उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’ र ‘सयथरी बाजा’ लगायतका गीत नेपाली संगीतप्रेमीमाझ लोकप्रिय छन्।
हास्यव्यङ्ग्य कलाकारका रूपमा हरिवंश आचार्यसँगको जोडीबाट परिचित मदनकृष्णको सांगीतिक यात्रा भने गायनबाटै सुरु भएको हो। उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा पनि आफ्ना गीत प्रस्तुत गरिसकेका छन्। पछिल्ला वर्षहरूमा स्वास्थ्य समस्याका बीच पनि उनी संगीत र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
यस कार्यक्रमको अर्को आकर्षण गायक यमन श्रेष्ठ हुनेछन्। गायन, संगीत र अभिनयमा सक्रिय यमनले ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’ र ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायतका गीत प्रस्तुत गरिसकेका छन्। उनी आफ्ना अधिकांश गीतमा आफैंले संगीत भर्ने गर्छन्।
कार्यक्रमको तयारीका क्रममा मदनकृष्णले १८ वर्षअघि पलेँटीमा गीत गाएको अनुभव सम्झँदै यसपटक छोरासँग एउटै मञ्चमा प्रस्तुति दिन पाउँदा थप उत्साहित भएको बताए। यमनले पनि पलेँटीको अभ्यास निकै रमाइलो भएको उल्लेख गर्दै प्रत्यक्ष कार्यक्रम अझ विशेष हुने विश्वास व्यक्त गरेका छन्।
पलेँटी कार्यक्रम जुलाई ३१ शुक्रबार र अगस्ट १ शनिबार काठमाडौंको कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ। कार्यक्रमलाई अनलाइनमार्फत प्रत्यक्ष (लाइभ) हेर्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।







Discussion about this post