बेइजिङ-चीनले अमेरिकाले हालै चिनियाँ कम्पनीहरूमाथि लगाएका प्रतिबन्धहरूको प्रतिकारस्वरूप अमेरिकी कम्पनी र प्रविधिलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध तथा निर्यात नियन्त्रणका उपायहरूको घोषणा गरेको छ।
चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अमेरिकाका विभिन्न कम्पनीलाई ‘काउन्टरमेजर्स सूची’मा समावेश गरिएको छ। सूचीमा परेका कम्पनीहरूसँग चीनभित्र रहेका व्यक्ति, संस्था वा कम्पनीहरूले व्यापार, लगानी तथा अन्य व्यावसायिक सहकार्य गर्न नपाउने व्यवस्था गरिएको छ। प्रतिबन्धमा विशेषगरी जैविक प्रविधि (बायोटेक) र प्राकृतिक स्रोत विश्लेषणसँग सम्बन्धित अमेरिकी कम्पनीहरू परेका छन्।
बेइजिङले यी कदम अमेरिकाले गत साता ४३ चिनियाँ कम्पनीबाट हुने आयातमा प्रतिबन्ध लगाएपछि त्यसको जवाफस्वरूप चालिएको जनाएको छ। अमेरिकाले ती कम्पनीहरू उइघुर मुस्लिम तथा अन्य अल्पसंख्यक समुदायमाथि भएको कथित मानवअधिकार उल्लंघनसँग सम्बन्धित रहेको आरोप लगाएको थियो।
यससँगै चीनले अमेरिका लक्षित ड्रोन, ड्रोनका पुर्जा तथा सम्बन्धित प्रविधिको निर्यात नियन्त्रण पनि थप कडा बनाएको छ। विश्वकै सबैभन्दा ठूलो ड्रोन उत्पादक चीनले राष्ट्रिय सुरक्षा र प्रविधि संरक्षणको कारण देखाउँदै पछिल्ला वर्षहरूमा ड्रोन निर्यातमा क्रमशः कडाइ गर्दै आएको छ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले लगातार चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्ध लगाइरहेकाले त्यसको प्रतिकार गर्नु आवश्यक भएको बताएका छन्। उनले अमेरिकालाई आफ्ना प्रतिबन्ध फिर्ता लिन आग्रह गर्दै अन्यथा चीनले थप प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएका छन्।
चीनले अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले चीनमा निर्मित नयाँ मानवरूपी तथा चारखुट्टे रोबोट, विद्युत् रूपान्तरण उपकरण तथा ड्रोनसम्बन्धी उत्पादनमा लगाएको प्रतिबन्धप्रति पनि असन्तुष्टि जनाएको छ।
यसैबीच, बेइजिङले विदेशी प्रणाली सफ्टवेयर प्रयोग भएका आयातित कार्यालय उपकरणमाथि राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ। साथै, अमेरिकासँग सञ्चालन हुँदै आएको केही कारखाना अनुगमन तथा निरीक्षणसम्बन्धी सहकार्य पनि अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।
पछिल्ला केही सातामा अमेरिकी प्रशासनले इरानी इन्धन ढुवानीमा संलग्न रहेको आरोपमा केही चिनियाँ जहाज सञ्चालन कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। साथै, अमेरिकी रक्षा मन्त्रालयले चीनका दुई प्रमुख नागरिक विश्वविद्यालयलाई निगरानी सूचीमा राखेको छ।
यसबाहेक अमेरिकाले चीनसहित विभिन्न देशबाट आयात हुने वस्तुमा १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएको छ। जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको निर्यात नियन्त्रणमा पर्याप्त प्रयास नभएको आरोप लगाउँदै अमेरिकाले यी कदम चालेको हो। अमेरिकी अधिकारीहरूले चिनियाँ कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूमाथि थप प्रतिबन्ध लगाउने सम्भावनासमेत औंल्याएका छन्।
अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने अपेक्षा गरिएको शिखर भेटअघि दुवै देशबीच नयाँ प्रतिबन्धको घोषणा भएपछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तथा रणनीतिक प्रतिस्पर्धा थप चुलिने संकेत देखिएको छ।







Discussion about this post