काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा गए पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र रूपान्तरणको अभियान निरन्तर अघि बढ्ने बताएका छन्।
महामन्त्री घिमिरेले एक वक्तव्य जारी गर्दै विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रतिको विश्वास व्यवहारमै देखाउनुपर्ने उल्लेख गर्दै अदालतको कानुनी प्रक्रियालाई पार्टीले सम्मान गर्ने बताएका छन्।
उनले कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र रूपान्तरणको साझा संकल्पबाट तय भएको दाबी गरे। अदालतको प्रक्रियासँगै पार्टी सुधारको अभियान थप गतिशील हुने उनको भनाइ छ।
“लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु हो, तर असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु होइन,” घिमिरेले वक्तव्यमा भनेका छन्। उनले संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुग्ने टिप्पणी गरेका छन्।
महामन्त्री घिमिरेले अहिलेको आवश्यकता विभाजनको बहस नभई एकताको संकल्प र अविश्वासको राजनीति नभई रूपान्तरणको नेतृत्व भएको बताएका छन्।
उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर कांग्रेसको संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।







Discussion about this post