काठमाडौँ –दुई पटकको एकदिवसीय विश्वविजेता वेस्टइन्डिज सन् २०२७ मा हुने विश्वकपमा सिधै छनोट हुन फेरि असफल हुने अवस्थामा पुगेको छ। लगातार कमजोर प्रदर्शनका कारण वेस्टइन्डिजले अब मुख्य प्रतियोगितामा स्थान बनाउन छनोट प्रतियोगिताको बाटो समाउनुपर्ने सम्भावना बलियो बनेको छ।
अफगानिस्तानले आयरल्यान्डविरुद्ध जारी पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ९२ रनको जित निकालेपछि वेस्टइन्डिजको सिधा छनोटको समीकरण थप कठिन बनेको हो। अफगानिस्तानको जितसँगै शीर्ष आठमा रहेर सिधै विश्वकपमा पुग्ने वेस्टइन्डिजको सम्भावना लगभग समाप्त भएको छ।
वेस्टइन्डिज लगातार तेस्रोपटक संकटमा
५० ओभरको क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेको वेस्टइन्डिजका लागि यो लगातार तेस्रो विश्वकप चक्र हो, जहाँ टोली सिधा छनोटको दौडबाट बाहिरिने अवस्थामा पुगेको छ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन्। त्यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयताका आधारमा थप आठ टोलीले सिधै विश्वकप खेल्नेछन्।
सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ।
न्युजिल्यान्डविरुद्धको एकदिवसीय सिरिजपछि वेस्टइन्डिज ७३ अंकसहित १०औँ स्थानमा झरेको थियो। बंगलादेश ८३ अंकसहित नवौँ तथा अफगानिस्तान ९० अंकसहित सातौँ स्थानमा रहेका छन्।
२०१९ मा छनोट खेलेर विश्वकप पुगेको थियो
वेस्टइन्डिजका लागि सिधा छनोटबाट बाहिरिने अवस्था नयाँ भने होइन। सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन असफल भएको थियो। त्यसपछि छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो।
तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोर्नुपर्यो। टोली छनोट प्रतियोगिताबाटै बाहिरिएपछि पहिलोपटक विश्वकपको मुख्य प्रतियोगितामा सहभागी हुन सकेन।
जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा वेस्टइन्डिज जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएको थियो। त्यसपछि स्कटल्यान्डसँगको हारले उसको विश्वकप यात्रा समाप्त भएको थियो।
भारतविरुद्धको सिरिजले पनि समीकरण नफेर्ने
विश्वकपअघि वेस्टइन्डिजले भारतविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। पहिलो खेल सेप्टेम्बर २७, दोस्रो सेप्टेम्बर ३० र तेस्रो अक्टोबर ३ मा हुने तालिका छ।
भारतविरुद्धको सिरिज ३–० ले जिते पनि वेस्टइन्डिजका लागि सिधै छनोटको समीकरण आफ्नो पक्षमा फर्किने सम्भावना न्यून रहेको छ। सेप्टेम्बर ३० को अन्तिम मितिसम्म वरीयता सुधार गर्न पर्याप्त अंक हासिल गर्न नसके टोलीले विश्वकप प्रवेशका लागि छनोट प्रतियोगितामै निर्भर हुनुपर्नेछ।
अफगानिस्तानको जितले बढायो दबाब
अफगानिस्तान र आयरल्यान्डबीचको सिरिज वेस्टइन्डिजका लागि महत्वपूर्ण थियो। आयरल्यान्डलाई सिधा छनोटको दौडमा कायम रहन पाँच खेलको सिरिज ५–० ले जित्नुपर्ने कठिन अवस्था थियो।
तर पहिलो खेल वर्षाका कारण रद्द भएपछि आयरल्यान्डको सम्भावना कमजोर बनेको थियो। दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ९२ रनले पराजित गरेपछि उसको सिधा छनोटको स्थिति थप बलियो बनेको छ।
यसको प्रत्यक्ष असर वेस्टइन्डिजमाथि परेको हो।
दुई विश्वकप जितेको टोलीको खस्किँदो यात्रा
वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा लगातार दुईपटक एकदिवसीय विश्वकप जितेको थियो। कुनै समय विश्व क्रिकेटमा दबदबा कायम गरेको टोली पछिल्ला वर्षहरूमा भने विश्वकप छनोटकै संघर्षमा फस्दै आएको छ।
सन् २०२३ को विश्वकप गुमाएको वेस्टइन्डिजका लागि २०२७ को विश्वकपमा स्थान बनाउन पनि अब छनोट प्रतियोगिताको कठिन बाटो पार गर्नुपर्ने अवस्था देखिएको छ। लगातार दुई विश्वकप चक्रमा देखिएको यो संकट वेस्टइन्डिज क्रिकेटको खस्किँदो प्रदर्शनको गम्भीर संकेतका रूपमा हेरिएको छ।








Discussion about this post