महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेपछि पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ हुने आवागमन प्रभावित भएको छ।
मंगलबार बेलुकीदेखि नदीको जलस्तर बढेपछि भारतको शारदा ब्यारेज (बनबासा पुल) मा ठूला तथा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार राति ९ बजे गरिएको मापनमा महाकालीको बहाव एक लाख आठ हजार क्युसेक नाघेको थियो। पानीको बहाव निरन्तर बढिरहेका कारण भारतीय पक्षले पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको उनले बताए।
ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपालबाट भारतका विभिन्न क्षेत्रमा जाने तथा भारतबाट नेपाल आउने यातायात प्रभावित भएको छ। यद्यपि, साना सवारीसाधनलाई भने आवागमनको अनुमति दिइएको प्रहरीले जनाएको छ।
पुल जीर्ण भएकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि भारतीय पक्षले सुरक्षाका लागि ठूला सवारीसाधनमा रोक लगाउँदै आएको प्रहरीको भनाइ छ। नदीको बहाव घट्दै गएपछि आवागमन क्रमशः सहज हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी तथा भारतको धार्चुला क्षेत्रमा वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ। नदीको जलस्तर बढेसँगै सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था समेत देखिएको छ।







Discussion about this post