सम्यक सन्देशको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार सम्पन्न

बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश राष्ट्रिय द्वैमासिकको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता तथा बौद्ध अध्येता एवं सम्यक सन्देशका सल्लाहकार श्यामलाल चित्रकारको सभापतित्व एवं चारुमती बुद्ध विहार प्रमुख भिक्षु तपस्सीधम्म महास्थविरको विशेष आतिथ्यताका साथै बौद्ध विद्वान् तथा सम्यक सन्देशका सल्लाहकार प्रा.डा. बज्रराज शाक्य, भिक्षु अश्वघोष, बौद्ध सेवा पुरस्कारबाट सम्मानित वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा परियत्ति अभियन्ता अमिता धाख्वा, साहित्यकार समालोचक एवं पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली नेपाल भाषा एकेडेमीका सदस्य एवं समालोचक पूर्णकाजी ताम्राकार, इमेज टेलिभिजनकी उपाध्यक्ष एवं समाजसेवी इन्दिरा मानन्धर, सम्यक सन्देशका सल्लाहकार डा. लक्ष्मण शाक्य, नेपाल सुनचाँदी ब्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बोधि टेलिभिजनका सरु तुलाधर, सम्यक सन्देशका सल्लाहकार कृष्णबहादुर श्रेष्ठको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिकारूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईले भगवान् बुद्ध बिश्वकै लागि शान्ति, करुणा, दयाका प्रतिमूर्ति रहनुका साथै सुसंस्कृत सभ्यताका प्रतिमूर्ति रहेको उल्लेख गर्दै आफू किराती धर्म सम्प्रदायको रहेता पनि भगवान् बुद्धप्रति उत्तिकै आदरभाव र सम्मान रहेको बताउँदै यस्तो गरिमामय कार्यक्रमको प्रमुख अतिथिको रूपमा भूमिका निर्वाह गर्न पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको जस्तो अत्यन्त खुसी लागेको कुरा ब्यक्त गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानले सबैसँग समन्वय गरी बुद्ध दर्शनका बारेमा अध्ययन, अनुसन्धान गरी सामग्री प्रकाशनमा सघाउ पुर्याउने वचनबद्धता प्रकट गरे ।

Comments are closed.