सावित्रा भण्डारी : गत हप्ता सावित्रा भण्डारी महिला वाफ च्यम्पियनसिपको सर्वाधिक गोलकर्ता बनिन् । उनको ९ गोलको सहयोगमा नेपालले फाइनलसम्मको यात्रा तय गर्यो । साथै सावित्रा ५० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो नेपाली खेलाडी पनि बनिन् । राष्ट्रिय टिमबाट ५३ गोल गरेकी सावित्राले दक्षिण एसियाकी सर्वाधिक गोलकर्ता वालेदेवीको कीर्तिमान भङ्ग गरिसकेकी छन् ।
अघिल्लो महिना फ्रान्सको शीर्ष डिभिजनको क्लबले सावित्रालाई अनुबन्ध गर्दा नेपाली फुटबल खेलाडीको अहिलेसम्मकै ठूलो सफलता हो । त्यसयता उनले चार खेलमा एक गोलसमेत गरिसकेकी छन् । सावित्रा अघिल्लो वर्ष भारतको आई लिगमा २९ गोलका साथ सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।
सन्तोषी श्रेष्ठ : अध्ययन गर्न नपाएर कति महिला अवसरबाट वञ्चित छन् । अवसर पाए पनि कतिले पारिवारिक जिम्मेवारीका कारण आफूलाई अगाडि ल्याउन पाएनन् । हो, तिनीहरूका लागि पनि संघर्ष गर्नुपर्छ । यस्तै लाग्छ- सन्तोषी श्रेष्ठलाई । आत्मबलले भरिएकी सन्तोषीले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनमा डेब्यु गरिन् । ढाकामा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा म्याराथन पूरा गरिन् । डेब्यूमै उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।
निरन्तर सफलताको श्रेणी चढिरहेकी सन्तोषीले सफल पोखरा म्याराथनमा पनि उपाधि जितिन् । नेपालगन्ज हाफ म्याराथन जितेकी सन्तोषीले र धरान टेन के रेस पनि आफ्ना नाम गरिन् । सन्तोषी तिनै धाविका हुन्- जो दक्षिण एसियाली खेलकुदअन्तर्गत एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । नेपाली महिला खेलाडीका लागि सन्तोषी प्रेरणाकी पात्र हुन् ।
नेपालले २५ वर्षपछि एसियाली खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा रजत पदक जित्यो । त्यो पदककी हकदार रहिन् एरिका गुरुङ । अभ्यासदेखि नै सकारात्मक ऊर्जाले भरिएकी एरिकाले जापानकी एजुकी सबाई र हङकङकी यान काईलाई हराएर एसियाली खेलकुदमा रजत कब्जा गरिन् । व्यक्तिगत इभेन्टमा नेपालको लागि रजत पदक जित्ने दोस्रो नेपाली खेलाडी हुन् उनी । एसियाली खेलकुदबाट नेपाल खालि हात नै घर फर्किने त होइन भन्ने आशंकाका बीच एरिकाले नै नेपालको लागि पदक तालिकामा रजत समावेश गरिन् ।
पारा एसियाडमा तेक्वान्दोको पलेसा गोवर्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाइन् । यो पारा एसियाडमा नेपालले जितेको पहिलो पदक हो । एसियाली खेलकुदमा नेपालले दुई पदक जित्दा दुवै पदक महिलाको नाममा रह्यो । नेपालले जितेको अर्को पदक हो महिला कबड्डी ।
एसियाली खेलकुदमा पहिलो पटक सहभागी बनेको कबड्डीले बंगलादेशलाई हराएर पदक जितेको थियो । दुई महिना अभ्यास गर्न पनि निकै कष्ट भोगेको महिला कबड्डीले अभ्यास गर्ने हल नै पाएको थिएन । न उसले समयमा अभ्यासको लागि पोसाक पायो । जसोतसो अभ्यास गरेको उसले पदक भने पक्का गर्यो ।
सीता राना मगर र रुविना क्षेत्री
नेपाली महिला क्रिकेटमा इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्- सीता राना मगर र रुविना क्षेत्री । गत महिना मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा यी दुवै खेलाडीले नेपाली महिला क्रिकेटलाई एक स्थान माथि पुर्याएका छन् । रुविना क्षेत्रीले इतिहासमा नै पहिलो पटक शतक प्रहार गरिन् । मालदिभ्सविरुद्धको त्यो शतक नेपाली महिला क्रिकेटमा अहिलेसम्मकै उच्च प्रदर्शन रह्यो । त्यसपछिको खेलमा सीता राना मगरले कुवेतविरुद्ध हृयाट्रिक विकेट लिइन् । टी-ट्वन्टी आईमा यो दोस्रो हृयाट्रिक विकेट हो ।
महिला आई लिगमा खेलाडी
अहिले नेपालका छ जना खेलाडीले भारतको महिला आई लिग खेलिरहेका छन् । एन्जिला तुम्बाप्पो सुब्बा, दीपा शाही, गीता राना, रश्मिकुमारी घिसिङलगायत खेलाडी आई लिगमा छन् । प्रीति राई पनि आई लिगमा अनुबन्ध भइन् । वाफको फाइनलमा चोट लागेपछि उनले बाँकी खेल भने गुमाएकी छन् । यो वर्ष भारतको लिग फरक शैलीमा भइरहेको छ । सात क्लबमात्र सहभागी बने पनि प्रतियोगिता उच्च स्तरको भइरहेको छ । पुरुषतर्फ भारतको लिगमा एक मात्र नेपाली खेलाडी सहभागी छन् ।
नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सफलता महिला खेलाडीले दिलाएका छन् । यो पुरुष र महिला खेलाडीबीच तुलना गरिएको भने होइन । किनकि खेलकुद यस्तो क्षेत्र हो जसले लिङ्ग होइन नतिजा हेर्छ । नेपालको खेलकुदलाई उचाइमा पुर्याउन महिला खेलाडीले साँच्चिकै सशक्त प्रदर्शन गरेका छन् ।
Comments are closed.