काठमाण्डौंको शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा खेमराज ओझा (खेम बतास)द्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ विमोचन गरिएको छ । यो कृतिले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए।
विमोचनपछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए। लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन्। नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्न्द्व नरहेको उनको भनाइ थियो। छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन्। ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन्।
कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन्। कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्। ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो। बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो।’
कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे। कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ।’
कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो। १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो।
Trending Now
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
- Jimny Rara Adventure: ‘A Ride with a Cause’ complete
- Secertary-General of BIMSTEC H.E. Mr. Indra Mani Pandey called on Foreign Secretary Ms. Sewa Lamsal at her office today
- विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित
- तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
- Nepali opposition leaders stage protest in parliament demanding formation of an investigation committee against Home Minister Rabi Lamichhane in case of cooperative fraud
- Mount Everest climbers will be appointed tourism promoters
- चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
- दमौली बजारमा भीषण आगलागी, करोडौंको क्षति
Comments are closed.