काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा संचालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरि कारबाही गर्ने जनाएको छ।हाल महानगरमा एक हजार ९५३ सहकारी संचालनमा छन्। जसमध्ये ९५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका महानगरले जनाएको छ।
महानगर सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले संचालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरि कारबाहीको दायरामा ल्याउने काम भइरहेको जानकारी दिए। नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ।त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक-पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन सुरु गरिसकेको छ। र, अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही सुरु गर्ने तयारी विभागको छ। अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने सम्मको तयारी महानगरको छ।संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ। सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। महानगरमा सोही ऐनअनुरुप सहकारी संचालन भइरहेका छन्।महानगरमा रहेको जम्मा सहकारीमध्ये एक हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, तीन वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीनवटा सीपमूलक सहकारी, दुईवटा शिक्षा सहकारी छन्। यस्तै, संचार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक-एक वटा सहकारी रहेका छन्।
Comments are closed.