२३ जेष्ठ २०७९ काठमाडौँ, प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा शिखा बुक्सले आयोजना गरेको लोकार्पण कार्यक्रममा डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दुबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शैकर तिवारीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो ।
पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सरकारले आगामी बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको उल्लेख गर्दै उहाँले जडिबुटीलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो।
“योग, आयुर्वेद, रैथाने ज्ञान र जडिबुटीलाई पर्यटनसँग जोडेर लैजानुपर्छ,” थापाले भन्नुभयो ।
जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा खँदिलो जानकारी दिएको बताउनुभयो ।
नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने उहाँको धारणा थियो ।
पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।
तनहुँको बन्दिपुर गाउँपालिकास्थित याम्पाफाँटमा जन्मिनु भएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुनुहुन्छ ।
वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गर्नुभएको छ ।
घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धनात्मक शोध प्रकाशित छन् ।
Comments are closed.